बेनी हाइड्रोपावरको आईपीओ चैत १ देखि निष्काशन हुँदै


काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड ले चैत १ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको २० लाख ८० हजार कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो।

कम्पनीले सोलुखुम्बुमा प्रभावको आधारमा सेयर छुट्याएको छ। अति प्रभावित (वडा २, ३, ४) लाई ५ लाख २० हजार कित्ता, प्रभावित (वडा ५, ६, ७, ११) लाई ३ लाख १२ हजार कित्ता र अन्य क्षेत्रका बासिन्दालाई २ लाख ८ हजार कित्ता सेयर छुट्याइएको छ। प्रभावित क्षेत्रलाई बाँडफाँडपछि १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिनेछ। बाँकी सेयर सर्वसाधारणमा समायोजन गरिने कम्पनीले जनाएको छ।

आवेदन न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म दिन सकिनेछ। प्रभावित क्षेत्रका लागि आवेदन चैत १५ (ढिलोमा चैत ३०) सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ५ (ढिलोमा चैत १५) सम्म खुला रहनेछ।

इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] BB+ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।