काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा काठमाडौँमा रात्रिकालीन गतिविधिमा समयसीमा तोकिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेसम्म मात्र होटल, रेस्टुरेन्टलगायत सम्पूर्ण रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने निर्णय गरेको हो।
प्रशासनका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था अनिवार्य रूपमा पालना गर्न भनिएको छ। राति ९ बजेपछि सबै प्रकारका रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्नेछ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निगरानी कडा पारिएको प्रशासनले जनाएको छ। आदेश उल्लङ्घन गर्ने व्यवसायमाथि कानुनी कारबाही हुन सक्ने संकेतसमेत गरिएको छ।


प्रतिक्रिया दिनुहोस्