काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा विकसित पछिल्लो तनावप्रति सरकार गम्भीर रहेको स्पष्ट पारेकी छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले विशेषगरी इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटले नेपाल सरकारलाई चिन्तित बनाएको बताइन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा देखिएको पछिल्लो घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको जानकारी दिँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताइन्। रोजगारी तथा विभिन्न सिलसिलामा मध्यपूर्वमा बसोबास गरिरहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार सजग र चिन्तित रहेको उनको भनाइ छ।
उनले सङ्कटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारिन्। त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको जानकारी पनि उनले दिइन् ।
प्रधानमन्त्रीले विश्वको जुनसुकै कुनामा रहेका नेपालीको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न सरकार पूर्ण रूपमा कटिबद्ध रहेको दोहोर्याइन् । इतिहासकै कठिन मोडमा देशको नेतृत्व सम्हाल्ने जिम्मेवारीलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगको सम्पर्कमा रहन आग्रह गरिन्।


प्रतिक्रिया दिनुहोस्