युएई आक्रमणमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव ल्याउने प्रक्रिया सुरू


काठमाडौँ । परराष्ट्र मन्त्रालय ले इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखा निवासी २९ वर्षीय दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको जनाएको छ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्री ले आबुधाबीस्थित नेपाली दूतावासमार्फत शव फिर्ता ल्याउन आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

संयुक्त अरब इमिरेट्सको आबुधाबीमा रहेको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको मृत्यु भएको थियो।

प्रवक्ता क्षेत्रीका अनुसार हाल खाडी मुलुकहरूमा रहेका सबै नेपाली नागरिक तथा ट्रान्जिटमा रहेका नेपालीहरू सुरक्षित रहेको त्यहाँस्थित नियोगहरूले जानकारी गराएका छन्। खाडी क्षेत्रका १० वटै नेपाली नियोग र सम्बन्धित सरकारी निकायबाट पछिल्लो घटनाक्रम, जारी ट्राभल एड्भाइजरी तथा सुरक्षा अवस्थाबारे निरन्तर प्रतिवेदन प्राप्त भइरहेको उनले बताए।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाली नागरिकको सुरक्षाका लागि अमृतबहादुर राई को संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरिएको मन्त्रालयले जनाएको छ। उक्त टोलीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी रहेका छन्।

सरकारले इरान–अमेरिका तथा इजरायलबीचको बढ्दो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षामा परेको प्रभावप्रति गम्भीरता पूर्वक निगरानी गरिरहेको र आवश्यक परे थप कदम चालिने जनाएको छ।