काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री पुर्याइसकिएको जानकारी दिए।
उनका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ। यसका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्री सुरक्षित रूपमा सम्बन्धित मतदान केन्द्रमा पठाइसकिएको छ।
भण्डारीले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा गरिएको यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारे।
मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै उनले सबै मतदान स्थललाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताए।
मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न सक्ने गरी शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचनलाई केवल प्रतिनिधि चयन गर्ने वा सरकार गठन गर्ने प्राविधिक प्रक्रियाका रूपमा मात्र नबुझ्न आग्रह गर्दै भण्डारीले यसलाई नागरिक सहभागितामार्फत कानून निर्माण र राज्य सञ्चालन प्रक्रियामा प्रत्यक्ष संलग्न हुने अवसरका रूपमा लिनुपर्ने बताए ।
आयोगले लोकतान्त्रिक अभ्यासको यस महत्वपूर्ण अवसरमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातासमक्ष अपिल गरेको छ।


प्रतिक्रिया दिनुहोस्