निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको निधनप्रति आयोगद्वारा शोक व्यक्त


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा व्यवस्थापनका क्रममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवकहरूको निधनले आयोग स्तब्ध भएको बताए। मतदान प्रक्रियाको तयारीका क्रममा देशका विभिन्न स्थानमा दुःखद् घटनाहरू भएको उनले जानकारी दिए ।

उनका अनुसार रामेछाप जिल्लामा निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको सवारी साधन दुर्घटनामा पर्दा एक सुरक्षाकर्मी र एक मतदान अधिकृतको ज्यान गएको छ । त्यस्तै, सर्लाही र मुस्ताङ जिल्लामा कार्यक्षेत्रमै खटिएको अवस्थामा मतदान अधिकृतहरूको निधन भएको छ भने कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आयोगले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै दुर्घटनामा घाइते भएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

आयुक्त भण्डारीले निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएको उल्लेख गरे। मताधिकार प्रयोग गर्नु नागरिकको संवैधानिक र कानुनी अधिकार मात्र नभई लोकतन्त्रप्रतिको जिम्मेवारी पनि भएको उनको भनाइ छ ।

निर्वाचन सामग्री ढुवानी र व्यवस्थापनका क्रममा विषम परिस्थिति तथा कठिन भूगोलका बाबजुद राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायले देखाएको समर्पणकै कारण निर्वाचन सम्भव भएको आयोगले जनाएको छ । उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोगले उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा अपिल गरेको छ ।