काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य सेवा व्यवस्थापनका लागि सङ्घ र सातवटै प्रदेशमा समन्वयकर्ता तोकेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निर्वाचनको दिन हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सेवा समन्वयका लागि सङ्घमा छ जना र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता खटाइएको हो।
उनले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट छ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट सात जना समन्वयकर्ता तोकिएको जानकारी दिए । सङ्घमा बन्दना भट्ट, डा. नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, कोशी प्रदेशमा डा. सभ्यता सुवेदी, मधेस प्रदेशमा फुलेन्द्र यादव, बागमती प्रदेशमा दिनेश रुपाखेती, गण्डकी प्रदेशमा बुद्धिसागर अधिकारी, लुम्बिनी प्रदेशमा नोधनारायण चौधरी, कर्णाली प्रदेशमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशीलाई समन्वयकर्ताको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता डा. बुढाथोकीका अनुसार समन्वयकर्ताहरूले निर्वाचनका दिन सम्भावित घटनामा घाइते हुने व्यक्तिलाई समयमै अस्पताल पुर्याउने र उपचारको व्यवस्थासम्म समन्वय गर्नेछन्।मन्त्रालयले यसअघि नै सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइसकेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्