मतदान गर्न बाँकी मतदातालाई ५ बजे नपर्खिन निर्वाचन आयोगको आग्रह, भन्यो: यो अधिकार मात्र होइन, दायित्व पनि हो


काठमाडाैँ । निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सबै मतदातालाई मतदानको अन्तिम समय (साँझ ५ बजे) नपर्खी मतदान केन्द्र पुग्न विशेष अनुरोध गरेको छ। देशभर उत्साहका साथ मतदान भइरहेको अवस्थालाई दृष्टिगत गर्दै आयोगले कार्यव्यस्तताका कारण घरमै रहेका नागरिकलाई मतदान गर्न अपिल गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरू निर्वाचनमा भाग नलिई घरमै बसेको भन्ने कुरामा आफू विश्वस्त नभएको बताउँदै, मतदान केन्द्र पुग्नेहरूले आफ्नो मत सुरक्षित र विधिपूर्वक प्रयोग गर्न सुझाव दिए ।

उनले भने, “सबै मतदाताहरू कार्यव्यस्तताका कारण कतिपय मतदान केन्द्रमा जान बाँकी हुन सक्ने, कतिपयले मतदान गरेर फर्किसक्न सक्ने अवस्था छ। जो कार्यव्यस्तताका कारण मतदान गर्न बाँकी हुनुहुन्छ, उहाँहरूलाई ढिलो नगरिकन मतदान केन्द्रमा पुग्न आग्रह गर्दछौँ।”

आयोगले मतदाताहरूलाई मतदानको अन्तिम समय नपर्खी आफ्नो काम समयमा सम्पन्न गर्न, भीडभाड र प्राविधिक समस्या आउन नदिन अनुरोध समेत गरेको छ। मत दिनु नागरिकको अधिकार मात्र नभई राष्ट्रप्रतिको महत्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ।