काठमाडाैँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गरेका छन् । गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएकाले सम्भावित चुनौतीहरूलाई प्रारम्भिक चरणमै समाधान गर्न सफल भएको उनले बताए ।
बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री अर्यालले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई पहिचान गरेर रोकथामको उपाय अपनाएको र केही छिटफुट घटना भए पनि तत्काल नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाएको बताए। उनले सुरक्षा व्यवस्थापनमा जनताको सहयोग उल्लेखनीय रहेको उल्लेख गर्दै सरकारले जनतालाई सहयोग गर्न वातावरण तयार पार्न विशेष पहल गरेको स्पष्ट पारे।
उनले भने, “पूर्वसूचनाहरूका आधारमा हामीले रोकथामको चरणमै धेरै पहल र समन्वय गर्यौँ। त्यसकारण सम्भावित चुनौतीहरू प्रारम्भमै समाधान भए, र केही घटना भए पनि तिनीहरूलाई नियन्त्रणमा लिएर कानूनी कारबाही अघि बढायौँ। यसको परिणामस्वरूप सुरुवातदेखि नै सुरक्षा अवस्था सुदृढ र मजबुत हुँदै आएको हो। जनताको सहयोग पनि उल्लेखनीय छ, तर त्यसको लागि वातावरण तयार गर्नु हाम्रो जिम्मेवारी हो। अहिले हाम्रो कार्यशैली र पद्धति पहिलाभन्दा बढी समन्वयात्मक र प्रभावकारी बनेको छ।”
उनले तल्लो तहमा भएका सफल अभ्यासहरूलाई अन्य क्षेत्रमा पनि लागू गर्दै कानून र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस्