पर्वतमा पनि मतगणना सुरु


काठमाडौंँ । पर्वतमा निर्वाचनको मतगणना सुरु भएको छ । विभिन्न मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न ढिलाइ भएपछि केही बेर अघि सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार फलेवास नगरपालिकाका तीन वडाबाट मतगणना सुरु गरिएको छ । जिल्लाका अन्य मतदान केन्द्रबाट ल्याइएका मतपेटिका क्रमशः खोल्दै गणना अघि बढाइने जनाइएको छ ।

पर्वतमा कुल १ लाख २२ हजार ६४९ मतदाता रहेका छन् । तीमध्ये करिब ६० प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । दुर्गम क्षेत्रका मतपेटिका राति अबेरमात्रै संकलन गरेर सदरमुकाम ल्याइएकाले मतगणना सुरु गर्न ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र छ । यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा नेकपा एमालेका पदम गिरी, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल र नेपाल कम्युनिस्ट पार्टीका मनहरि शर्मा बिच मुख्य प्रतिस्पर्धा रहेकाे छ ।

पदम गिरी यसअघि पनि पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेता हुन् । २०७९ सालको निर्वाचनमा उनले २९ हजार ८७२ मत प्राप्त गरी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका थिए ।