निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयोः गृहमन्त्री अर्याल


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताएका छन् ।

उनले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतका भन्दा गुणस्तरीय भएको दाबी गर्दै यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको स्पष्ट पारेका हुन्। गृहमन्त्री अर्यालका अनुसार यदि निर्वाचन हुन नसकेको भए मुलुक, मानवता र संविधान गम्भीर जोखिममा पर्ने अवस्था थियो।

उनका अनुसार यस पटकको निर्वाचनमा रगतको एक थोपा पनि बगेको छैन र वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको छ। विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यस पटक देशभर एकैचोटी शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले जानकारी दिए।

उनले भने, “चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको छ। अब हामीले निष्पक्ष र गुणस्तरीय चुनाव सम्पन्न गरिसकेका छौँ। चुनावी क्रममा पनि हिंसात्मक झडपहरू नगरी मतदान सम्पन्न भएको छ। पहिला जहाँ स्थगन हुने अवस्था हुन्थ्यो, अहिले देशभरि एकैचोटी मतदान सम्पन्न भयो। यसले राजनीतिक सुशासनका लागि नयाँ मानक कायम गरेको छ, जुन भविष्यमा आउने सरकारले पनि भत्काउन सक्दैन।”

उनले सरकारको सफलतापूर्वक निर्वाचन सम्पन्न गराउने प्रयासलाई ठूलो सफलता ठहर गर्दै यसलाई आगामी राजनीतिक सुशासनको आधारभूत मापदण्डको रूपमा अघि बढाउने योजना रहेको बताए ।