काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले अत्यधिक मतान्तरसहित विजय हासिल गरेका छन्।
पूर्वसञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ९४१ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै पछि पार्दै जीत दर्ता गरेका हुन्।
निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत मात्र प्राप्त गरेका छन्। यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत पाएका छन् भने नेकपा ९एमाले० का उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत प्राप्त गरेका छन्।
कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ६१ हजार ९७५ जनाले मतदान गरेका थिए। जसमा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष मतदाता सहभागी भएका थिए।
यस क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका खरेलले फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्