काठमाडौँ । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गरेका छन् ।
मन्त्री खनाल आइतबार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीसँग भेट गरी धन्यवाद प्रकट गरेका हुन् । उनले निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चितता र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दै जटिल परिस्थितिका बीच पनि आयोगले तय गरिएको कार्यतालिकाभित्रै निर्वाचन सम्पन्न गराएको बताए । उनका अनुसार यस्तो कठिन अवस्थामा पनि दृढ इच्छाशक्तिका साथ काम गरेकोले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो र यसको सम्पूर्ण श्रेय निर्वाचन आयोगलाई जान्छ।
उनले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरे । निर्वाचनका क्रममा सुरक्षा संयन्त्र तथा सरोकारवाला निकायहरूबिचको सहकार्य प्रभावकारी भएका कारण यसपटक कतै पनि हातपात, बुथ कब्जा वा फर्जी मतदानजस्ता गतिविधि नभएको उनको भनाइ थियो।
मन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायले समेत यस निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण मानेको उल्लेख गर्दै कुनै पनि स्थानमा निर्वाचन स्थगित नगरी तोकिएकै दिन सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए । उनले उम्मेदवार तथा राजनीतिक दलहरूले देखाएको मित्रवत व्यवहार र स्वच्छ प्रतिस्पर्धाले लोकतन्त्रलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरे ।
निर्वाचन घोषणा भएको समयदेखि नै विभिन्न प्रकारका आशंका र विवादहरू उठेको स्मरण गर्दै उनले मौसम प्रतिकूल हुने, चन्द्रग्रहण पर्ने, कतिपय स्थानमा मतदान सम्भव नहुने जस्ता प्रश्नहरू पनि उठेको बताए। तर निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिकाबाट पछि नहट्ने अडान लिएर सरकार र सुरक्षा निकायसँग सहकार्य गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको उनले उल्लेख गरे ।
उनका अनुसार यसपटकको निर्वाचन केवल सरकार गठनका लागि मात्र नभई सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले पनि महत्वपूर्ण थियो। त्यसैले विभिन्न जोखिमका बाबजुद आयोग, सुरक्षा संयन्त्र र सरकारले समन्वय गरेर निर्वाचनलाई सफल बनाएको उनहाँको भनाइ थियो।
यसैबिच गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि आयोगको कार्यालय पुगेर धन्यवाद व्यक्त गरे ।त्यस्तै नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले पनि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस्