काठमाडाैँ । प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४ यातायात व्यवसायीहरूमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष समेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजीत भएका छन् ।
उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजार बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् ।
अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा २८ हजार ८ सय मत ल्याएर उनले जित हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार धु्रवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए ।
त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका उनले ३० हजार ८ सय मत ल्याएर जित हाँसिल गरेका छन् ।
सापकोटाका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली काँग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएकोमा पराजय भोग्नुपरेको छ ।
सो क्षेत्रबाट झविलाल डुम्रे रास्वपाका उम्मेदवारले २५ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरे । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुपर्यो ।


प्रतिक्रिया दिनुहोस्