काठमाडौंं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा आफ्ना मजदुर तथा कर्मचारीलाई पारिश्रमिक र बोनसमा झण्डै १ अर्ब रुपैयाँ खर्च गरेको छ ।
कम्पनीमा कार्यरत ४ हजार कर्मचारीको लागि उक्त रकम भुक्तानी भएको कम्पनीको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।
रिलायन्सले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरको पारिश्रमिकमा ७७ करोड ५२ लाख ३७ हजार २९२ रुपैयाँ र प्रशासनिकतर्फको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ लाख १ सय ९८ रुपैयाँ खर्च गरेको छ । त्यसैगरी उक्त आर्थिक वर्षमा सम्पूर्ण मजदुर तथा कर्मचारीलाई ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरिएको छ ।
कार्यरत सबै मजदुर तथा कर्मचारीलाई ६९ दिन बराबरको बोनस वितरण गरिएको हो । वित्तीय विववरणअनुसार मजदुर तथा कर्मचारीको लागि ९५ करोड १५ लाख १८ हजार ४५३ रुपैयाँ खर्च भएको छ ।
कम्पनीले खुद नाफामा बढोत्तरी भएसँगै कर्मचारीलाई दिने बोनस पनि करिब ५ सय प्रतिशतले बढाएको हो ।
वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ बोनस वितरण गरिएको थियो ।
रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् ।
उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ ।
उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ ।
रिलायन्सले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७ सय ९३ रुपैयाँ रहेको थियो ।
दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८ सय ४५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
कम्पनीको कूल नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्षिक वर्ष २०८१/८२ मा कुल नाफा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
एक महिनाअघि मात्र आइपिओ निष्काशन प्रक्रिया सम्पन्न गरी धितोपत्र बजारमा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय निरन्तर नाफामा गइरहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । माघ अन्तिम साता सार्बजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर नेटवर्थ पनि बढेर ४९० रुपैयाँ ५४ पैसा पुगेको छ ।
२०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठत व्यापारिक घराना गोल्याण समूहको अभिन्न अङ्गको रुपमा रहेको छ । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ ।
उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् ।
रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् ।
९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्