उद्योग वाणिज्य महासङ्घमा चुनावी चटारो,अहिलेसम्म केके भयो ?


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनाव नजिकिँदै गर्दा दुई समूहले सक्रियतापूर्वक अभियान चलाइरहेकाे छ ।

औपचारिक अनौपचारिक उम्मेदवारी सार्वजनिक हुनेक्रम जारी छ ।

महासङ्घमा एउटा पक्षले वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाललाई अगाडि सारेर अगाडि बढेको छ ।

यो समूहलाई वर्तमान अध्यक्ष चन्द्र ढकालले समेत समर्थन गरेका छन् । अर्को समूहको वर्तमान वरिष्ठ उपाध्यक्ष (अब स्वत : अध्यक्ष) अञ्जन श्रेष्ठले नै नेतृत्व गरेका छन् ।

अहिलेसम्म के के भयो ?

अहिलेसम्म हेमराज पक्षले काठमाडौँमा पत्रकारसम्मेलन गरेर उम्मेदवारी घोषण गरिसकेको छ ।

पदाधिकारीको उम्मेदवारी घोषणा गरेको हेमराज पक्षले कार्यसमिति सदस्यहरूको नाम भने सार्वजनिक गरेको छैन ।

वस्तुगततर्फका कार्यसमितिको नाम लगभग बाहिर आए पनि एसोसिएट्स र जिल्लानगरको नाम सर्वजनिक भएको छैन ।

यो समूहले एसोसिएट्स तर्फ पनि कार्यसमितिको नाम अन्तिम चरणमा पुर्‍याएको छ ।

एसोसिएट्सबाट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठले कार्यसमिति तर्फका नामहरू अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

उनले दुइचारदिनभित्रै नाम टुङ्गिने जानकारी दिइन् ।

हेमराज समूहले जिल्लानगरतर्फका कार्यसमिति सदस्यको नाम पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।

उद्योग वाणिज्य महासङ्घको अब बस्ने कार्यसमिति बैठक लगत्तै कार्यसमिति सदस्यका उम्मेदवारको नाम सार्वजनिक तयारी छ ।

जिल्लानगरतर्फका उपाध्यक्षका उम्मेदवार उमेश डाल्मियाले भने,“नाम त करिब छ तर अन्तिम टुङ्गोमा पुर्‍याउन बाँकी छ ।

नयाँ पुरानो सबै उद्योगी व्यवसायीलाई मिलाएर लैजान्छौँ ।” यो समूहमा वस्तुगततर्फ नरेशलाल श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।

उपाध्यक्ष रहेका श्रेष्ठले वस्तुगततर्फको कार्यसमिति सदस्यका उम्मेदवार लगभग टुङ्ग्याएका छन् ।

अर्को समूहको नेतृत्व वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले गरिरहेका छन् । यो समूहले पनि उपाध्यक्षतर्फको नाम भने टुङ्ग्याइसकेको छ ।

यो समूहमा वस्तुगत उपाध्यक्षको उम्मेदवारमा शिवप्रसाद घिमिरे, एसोसिएट्मा प्रबलजंग पाण्डे र जिल्लानगरको उपाध्यक्ष उम्मेदवारमा कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठ रहेका छन् ।

यो समूहले पनि वस्तुगततर्फकाे कार्यसमिति सदस्यहरूको नाम टुङ्ग्याएको छ ।

जिल्लानगरको तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्माले जिल्लानगरका कार्यसमिति तर्फका नामहरू टुङ्गिएको जानकारी दिए ।

उनले भने,“ हाम्रोतर्फबाट जिल्लानगरबाट कार्यसमिति सदस्यका उम्मेदवारको नाम टुङ्गिएको छ । चैत्र ६ गते औपचारिक रूपमा घोषणा गछौँ ।”

चुनाव नजिकिदै गर्दा दुबै पक्षका उम्मेदवारका आकाङ्क्षी जिल्ला दौडाहामा छन् ।

अञ्जन पक्षका उपाध्यक्षका उम्मेदवार आफूहरू दैलेखमा रहेको बताए । हेमराज समूहका जिल्ला नगरबाट उपाध्यक्ष उम्मेदवार डाल्मियाले मधेश प्रदेशका जिल्लामा छलफल गरेर फर्किएको बताए ।

सुरुमा वर्तमान अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सर्वसम्मतिको प्रयास गरे पनि महासङ्घमा दुई समूह बनेर चुनावी अभियान चलिरहेको छ । महासङ्घको चैत्र अन्तिम हप्ता हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ ।