काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा रामचन्द्र संघाईले आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार भनेर प्रचार सुरु गरेपछि उनकै टिम असन्तुष्ट बनेको छ ।
वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहमा संघाईसहित ६ जना वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी छन् । यो समूहले अहिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवारी घोषणा नगर्ने पक्षमा छन् ।
दुबै पदाधिकारी निर्वाचित कार्यसमितिले चयन गर्ने विधानमा प्रावधान छ । संघाईले भने टिममा भएको सहमति विपरीत प्रचार सुरु गरेको भन्दै असन्तुष्टी बढेको हो ।
अञ्जन समूहबाट वस्तुगत उपाध्यक्षको उम्मेदवार शिवप्रसाद घिमिरेले अहिले वरिष्ठ उपाध्यक्षको उम्मेदवारबारे कुनै निर्णय नभएको बताए ।
उनले भने,“हाम्रो टिममा वरिष्ठ उपाध्यक्षमा ६ जना आकाङ्क्षी हुनुहुन्छ । त्यसमध्ये संघाईजी पनि हो । हामीले यसबारे केही निर्णय गरिसकेका छैैनौँ ।”
अञ्जन समूहले अनौपचारिक रूपमा वरिष्ठ उपाध्यक्षका लागि मापदण्ड बनाएको छ ।
वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्नका लागि सकेसम्म धेरै कार्यसमितिले समर्थन गर्न सक्ने, सबै उद्योग व्यवसायीको मुद्दा उठान गर्न सक्ने र समूहभित्र पनि कार्यसमिति सदस्यहरूलाई साथमा लिएर हिँड्न सक्नेलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार तयार गर्ने योजना छ ।
निर्णय नहुँदै वरिष्ठ उपाध्यक्षको रूपमा प्रचार सुरु गरेपछि संघाईप्रति टिमकै सदस्य असन्तुष्ट बनेका हुन् । संघाईको यो कदमले उल्टो ‘ब्याक फायर’ हुन सक्ने भन्दै भित्रकै सदस्यले सुझाव दिएका छन् ।
अर्को समूहबाट भने हेमराज ढकालको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा भइसकेको छ ।
अञ्जन समूहले भने चैतको अन्तिम हप्ता महासङ्घको कार्यसमितिको निर्वाचन पछि मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेदवार अगाडि सार्ने तयारी गरेको छ ।
अघिल्लो चुनावमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र संघाई वरिष्ठ उपाध्यक्षका उम्मेदवार थिए । संघाई पहिलो चरणबाटै बाहिरिएपछि दोस्रो चरणमा उमेश र अञ्जनबिच सहमति भएको थियो ।
यो भन्दा पहिले संघाइ चन्द्र ढकाल समूहमा रहेर चुनाव लडेका थिए । यसपटक अञ्जनको टिममा रहे पनि निर्णयबिना आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा प्रचार सुरु गरेपछि संघाईप्रति आफ्नै समूह सशङ्कित बनेको छ ।
संघइको गतिविधिले अञ्जन समेत असन्तुष्ट बनेका छन् ।
यता न उताको बन्ने जोखिम
अघिल्लो निर्वाचनमा उनका प्यानलमा ज्योत्सना श्रेष्ठ र सुरकृष्ण बैद्यले उपाध्यक्षमा चुनाव जिते तर वरिष्ठ उपाध्यक्षमा संघई पहिलो चरणबाटै बाहिरिए ।
अञ्जन र उमेशलालसँगको प्रतिस्प्रधामा तीनैजनाले ५० प्रतिशत मत कटाउन नसकेपछि संघई बाहिरिए र सबैभन्दा धेरै मत ल्याएका अञ्जन र उमेशलाल दोस्रोचरणमा पुगे ।
दोस्रो चरणमा चुनाव नगरेर उमेशलाललाई अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा सहमति गरेर छोडिदिए । संघई जसरी पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न चाहन्छ ।
यद्यपी सहमति विपरीत नै आफ्नै समूहमा असन्तुष्टि भएपछि गाह्रो भएको छ ।
अर्को समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार तय गरिसकेको छ ।
आफ्नै सहमतिमा असन्तुष्टि बढ्ने र अर्को समूहले पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरिसकेको अवस्थामा संघई फेरि यता न उता बन्ने जोखिम बढेको छ ।


प्रतिक्रिया दिनुहोस्