उनेपाको समीक्षा बैठक सम्पन्न, संगठन सुदृढीकरण र आगामी चुनावी तयारीमा जोड


काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने विशेष केन्द्रीय समीक्षा बैठक सम्पन्न गरेको छ।

फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा आयोजित बैठक पार्टीका अध्यक्ष कुलमान घिसिङ को अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा केन्द्रीय समिति सदस्यहरू, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको पार्टीले जनाएको छ।

बैठकको पहिलो दिन उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूबीच निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको अवस्था, संगठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान तथा प्रचारप्रसारका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूले सीमित समय, न्यून स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालेका थिए। उनीहरूले यसलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

दोस्रो दिन केन्द्रीय समिति सदस्यहरूबीच भएको छलफलमा पहिलो दिनका सुझाव र अनुभव प्रस्तुत गरिएको थियो। छलफलपछि पार्टीलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ र जनतासँग प्रत्यक्ष रूपमा जोडिएको राष्ट्रिय राजनीतिक शक्तिका रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको पार्टीले जनाएको छ।

बैठकले पार्टीको संगठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मका संरचनालाई व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको छ।

त्यस्तै प्रशिक्षण कार्यक्रम सञ्चालन, वैचारिक एकरूपता कायम, साझा सन्देश प्रवाह, डिजिटल उपस्थिति सुदृढीकरण, मिडिया परिचालन, युवा तथा महिला सहभागिता वृद्धि, समावेशी प्रतिनिधित्व, सदस्यता विस्तार तथा आर्थिक सुदृढीकरणका विषयमा पनि व्यापक सहमति जुटेको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले प्राप्त जनमतलाई हारका रूपमा नभई भविष्यको उज्यालो यात्राको महत्वपूर्ण बीउका रूपमा लिनुपर्ने बताएका थिए।

उनले चुनौतीपूर्ण परिस्थितिका बिच पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव, विश्वास र जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अब संगठन विस्तार, सदस्यता वृद्धि, डिजिटल अभियान र स्थानीय जनसम्पर्कलाई तीव्रता दिँदै आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारी अघि बढाइने स्पष्ट पारे।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै जाति, क्षेत्र वा समूह विशेषको नभई सम्पूर्ण नेपाली जनताको साझा, समावेशी र जिम्मेवार राजनीतिक विकल्प भएको उल्लेख गर्दै पार्टीप्रति विश्वास राखी मतदान गर्ने मतदाता, उम्मेदवार, नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका थिए।

बैठकले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आधार बनाएर देशव्यापी संगठन सुदृढीकरण, जनतासँग निरन्तर संवाद, विकासमुखी एजेन्डा निर्माण र राष्ट्रिय मूलधारको राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्ने निर्णय पनि गरेको छ।