अर्को निर्वाचनमा प्रतिपक्षीविहिन हुनेगरि काम गर्नुपर्नेछः उपसभापति अर्याल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन् । 

रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उनले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गरे । उनले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गरे ।

निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको उनकाे भनाइ छ । उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभुत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीका सांसदहरुलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित हुन आग्रह गरे । इतिहास लेख्ने सुनौलो अवसर आएको भन्दै यसलाई सदुपयोग गर्न सबै जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ । यसलाई सदुपयोग गर्न नसकेमा आफैँलाई माफ गर्न गाह्रो हुने उनको भनाइ छ । उनले आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने पनि बताए । 

पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीका सबै सदस्यहरुको मेहनतले पार्टीलाई पहिलो बनाउनुपर्ने बताए ।