काठमाडाैँ । उपभोक्ताहरूले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् ।
मंगलवार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरूले सङ्कटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरूको प्रतिक्रिया थियो ।
“ग्याँसहरू कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ पनि आधी नै पाईराखेको छ । ९५५ प्राईज भईहाल्यो । यस्तै हो । गाह्रो भईराखेको छ सबैलाई । त्यही भएर आधी पाए पनि खुशी नै हो । काम चलाउन पुगिराखेको छ । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौला । समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु,”एक उपभोक्ताले भने ।
नजिकको ग्याँस डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गरिन् । उपभोक्ताहरूले ग्याँसको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।
यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताए ।


प्रतिक्रिया दिनुहोस्