काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेल लाई व्यवस्थित र हरियाली बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रफलको मैदानलाई समथर बनाउँदै बरुनाग्रास दुबो रोप्ने तयारी गरेको हो।
महानगरका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत उक्त क्षेत्रलाई व्यवस्थित खुला मैदानका रूपमा विकास गर्न लागिएको हो।
दुबो रोप्ने कार्यका लागि आवश्यक तयारीसमेत सुरु भइसकेको छ। परियोजनाको कुल लागत अनुमान ४ करोड २५ लाख रुपैयाँ रहेकोमा निर्माण व्यवसायीसँग २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। ठेक्का सम्झौताअनुसार २०८३ पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको छ।
महानगरले टुँडिखेल क्षेत्रमा स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पारेको छ। तर, मैदानलाई हरियाली बनाउन आवश्यक न्यूनतम संरचना भने निर्माण गरिनेछ। प्रारम्भमा मैदानलाई समथर बनाउने (लेभलिङ) काम गरिनेछ र त्यसपछि करिब तीन इन्च मलिलो माटो राखी दुबो रोपिनेछ।
सिंचाइ व्यवस्थापनका लागि मैदानका चार कुनामा बोरिङ निर्माण गरिनेछ भने पानी पुनर्भरणका लागि १.२ मिटर व्यासका १० वटा ‘वाटर रिचार्ज पिट’ निर्माण गर्ने योजना पनि समावेश गरिएको छ। यसले काठमाडौं उपत्यकामा बढ्दो सुक्खापन न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्माण कार्य सम्पन्न भएपछि मैदानको व्यवस्थापनलाई पनि प्राथमिकता दिइनेछ। महानगरले हेरालु र माली खटाएर दुबोको नियमित स्याहार, मल व्यवस्थापन तथा सिंचाइ प्रणालीलाई व्यवस्थित बनाउने योजना बनाएको जनाएको छ।
टुँडिखेल काठमाडौँ महानगरभित्रको सबैभन्दा ठूलो खुला क्षेत्र हो, जहाँ दैनिक रूपमा सर्वसाधारणले बिहान–बेलुका व्यायाम गर्ने र विभिन्न सभा–समारोह आयोजना हुने गरेका छन्।
निर्माण कार्यका क्रममा यस्ता गतिविधिमा केही अवरोध आउने भए पनि महानगरले वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने जनाएको छ। खुलामञ्चलाई व्यवस्थित बनाइसकिएको र त्यहाँ सभा, समारोह तथा खेलकुद गतिविधि सञ्चालन गर्न सकिने जानकारी पनि दिइएको छ।
महानगरले टुँडिखेल क्षेत्र सर्वसाधारणका लागि खुला रहने स्पष्ट पार्दै, निर्माणपछि पनि यसलाई सबैका लागि उपयोगी र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्