काठमाडाैँ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी १२ गते गर्नेगरी तयारी अघि बढाएको छ।
बिहीबार संसद् सचिवालयका महासचिवले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा शपथ ग्रहणको मिति तथा संसदीय दलका कार्यालय व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो।
छलफल मुख्य रूपमा शपथ ग्रहणको मिति तय गर्ने र दलका कार्यालयहरूको व्यवस्थापन तथा सेवा–सुविधा सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको सहभागी सांसदहरूले बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले १२ गते शपथ ग्रहण गर्नेगरी तयारी अघि बढाइएको जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगले अन्तिम नामावली पठाएपछि र राष्ट्रपति कार्यालयबाट औपचारिक समय सुनिश्चित भएपछि मात्र मिति अन्तिम रूपमा टुङ्गो लाग्नेछ।
उनले भने, “मुख्यतः १२ गते शपथ ग्रहण गर्ने गरी तयारी भएको छ। निर्वाचन आयोगले सूची पठाएपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुंगिनेछ। संसदीय दलका कार्यालयहरूको व्यवस्थापन र सेवा सुविधाका विषयमा पनि छलफल भएको छ।”
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आफूहरू प्रतिपक्षको भूमिकामा स्पष्ट रूपमा रहने बताए। उनका अनुसार बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फाराम भर्ने प्रक्रिया तथा नयाँ भवनको व्यवस्थापनलगायत विषयमा पनि छलफल भएको थियो।
उनले भने, “हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं। बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फाराम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको छ। १२ गते शपथको तयारी छ, बाँकी सरकारले के गर्छ हेरौँ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले दलको आकारअनुसार संसदीय दलका कार्यालयहरूको व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार कार्यालयहरूको स्थान र संरचनाबारे पनि छलफल भएको छ।
उनले भने, “दलको आकार अनुसार कार्यालयहरूको व्यवस्थापन गर्ने तयारी भइरहेको छ। संसदीय दलका कार्यालयहरू कहाँ रहने भन्ने विषयमा छलफल भयो। केही हेरफेर हुन सक्छ, हामीलाई व्यवस्थापन देखाउने काम भइरहेको छ।”
संसद् सचिवालयका अनुसार निर्वाचन आयोगले सांसदहरूको अन्तिम नामावली राष्ट्रपति कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइसकेको छ।
सो प्रक्रिया पूरा भएपछि शपथ ग्रहणको औपचारिक समय सार्वजनिक गरिनेछ। सचिवालयले नयाँ कार्यकालका लागि आवश्यक प्रशासनिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको कामसमेत तीव्र गतिमा अघि बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्