काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई प्रदेशका अध्यक्ष केन्द्रीय उपाध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष र बागमती प्रदेशका अध्यक्ष महासङ्घको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ र लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा महासङ्घमा जिल्लानगर उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।
दुबैजना प्रदेशमा दुई कार्यकाल अध्यक्ष बनेका छन् ।
श्रेष्ठले बागमती प्रदेशको दुई कार्यकाल नेतृत्व गरेका छन् भने शर्माले पनि लुम्बिनी प्रदेशको महासङ्घको दुई कार्यकाल नेतृत्व गरेका छन् । दुबैजना महासङ्घको वर्तमान प्रदेश अध्यक्ष हुन् ।
बागमती प्रदेश अध्यक्ष र महासंघको उपाध्यक्षको उम्मेदवार बनेका श्रेष्ठले ४ कार्यकाल धुलिखेल उद्योग वाणिज्य संघको नेतृत्व समेत गरिसकेका छन् ।
उनले भने,“लामो समयदेखि जिल्लानगरका साथीहरूसँगै छु । उहाँहरूको मुद्दा र आवश्यकता के हो बुझेको छु । राम्रो भएकैले पक्कै दुई पटक प्रदेश नेतृत्व गर्ने अवसर पाएँ । अब केन्द्रमा नेतृत्व गरेर उद्योगी व्यवसायीको मुद्दालाई थप प्रभावकारी बनाउने योजना छ ।”
लुम्बिनी प्रदेशका अध्यक्ष र जिल्लानगरबाट उपाध्यक्षको उम्मेदवार रहेका शर्माले पनि आफूले जिल्ला र प्रदेशमा गरेको कामको अनुभवलाई केन्द्रमा प्रयोग गर्ने बताए ।
उनले भने,“मैले जिल्ला र प्रदेशमा सफलतापूर्वक नेतृत्व गरेको छु । साथीहरूको विश्वासलाई निराश हुन दिइन । अब केन्द्रमा आएर त्यो अनुभवलाई सदुपयोग गर्न चाहन्छु ।”
नेपाल उद्योग वाणिज्य महासङ्घको यही चैत २९ र ३० गते साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्