काठमाडौँ । गायक प्रकाश सपुतले राजनीतिक अनुभव, निर्वाचनमा सहभागिता र भविष्यको योजनाबारे भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विश्व प्रसिद्ध कोरियन संगीत समूह बीटीएसको उदाहरण दिँदै आफ्नो व्यक्तिगत यात्रा र देशप्रतिको अपेक्षालाई जोडेर लामो स्टाटस लेखेका हुन्।
सपुतका अनुसार बीटीएस समूहले दुई वर्ष सैन्य सेवापछि पुनः नयाँ एल्बम र लाइभ कन्सर्टमार्फत फर्किएको प्रसंगलाई आधार बनाएर आफूले पनि पाँच वर्ष देशलाई केही योगदान दिने सोचसहित राजनीतिक यात्रामा होमिएको बताएका थिए। छोटो तयारीबिच मानसिक र व्यवहारिक रूपमा तयार हुँदै निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै उनले आफ्नो निर्णय होशपूर्वक लिएको दाबी गरेका छन्।
उनका अनुसार यो पटकको चुनावमा उनको लक्ष्य केवल संसद सदस्य बन्नु मात्र नभई नयाँ राजनीतिक शक्तिलाई सुदृढ बनाउन सहयोग गर्ने, स्थायी सरकार निर्माणको प्रयासमा साथ दिने र उत्पीडित समुदायका मुद्दालाई निरन्तर उठाइरहने रहेको थियो। उनले रास्वपालाई नयाँ राजनीतिक विकल्पका रूपमा समर्थन गर्दै बालेन शाह नेतृत्वमा स्थायी सरकार बन्ने अपेक्षासमेत व्यक्त गरेका थिए।
सपुतले आफू उत्पीडित समुदायबाट आएको र सामाजिक विभेदका अनुभवहरूले बाल्यकालदेखि नै राजनीतिक चेतना विकास भएको पनि उल्लेख गरेका छन्। उनले समाजप्रति रहेको आक्रोश, कल्पना र अनुभव समयसँगै सिर्जनशीलतामा रूपान्तरण भएको बताउँदै आफू कलाकार भए पनि सामाजिक र राजनीतिक चेतनाबाट पूर्ण रूपमा टाढा नरहेको स्पष्ट पारेका छन्।
उनले यसअघि विभिन्न राजनीतिक आन्दोलन र परिवर्तनका क्षणहरूमा आफू सक्रिय रूपमा सहभागी हुन नसकेकोमा पछुतो लागेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा फेरि नयाँ राजनीतिक परिवर्तनको अवसर देखिएको बताएका छन्। यही कारणले यस पटक आफू परिवर्तनको पक्षमा खुलेर उभिएको उनको भनाइ छ।
सपुतका अनुसार उनले सांसद भएमा उत्पीडित समुदायका अधिकार, मौलिक संस्कृति र पर्यटन क्षेत्रका नीतिमा विशेष ध्यान दिने तयारीसमेत गरेका थिए। त्यसका लागि विभिन्न सरोकारवाला समूहसँग छलफल भइरहेको पनि उनले उल्लेख गरेका छन्।
तर समानुपातिक सूचीमा आफू नपरेपछि रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोन संवाद भएको र उनले पार्टीमा बसेर पनि योगदान गर्न सकिने वा स्वतन्त्र रूपमा सिर्जनात्मक काममार्फत सहयोग गर्न सकिने सुझाव दिएको कुरा पनि सपुतले सार्वजनिक गरेका छन्।
सपुतले अब आफू पुनः पूर्ण रूपमा कलाकारितामा फर्किने संकेत गर्दै राजनीतिक यात्राको अस्थायी अध्यायलाई विश्राम दिने बताएका छन्। उनले समाज र राज्यको नजरमा एक समान नागरिकका रूपमा रहन चाहेको उल्लेख गर्दै भविष्यमा सिर्जनात्मक काममार्फत समाजमा योगदान दिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्