काठमाडाैँ । पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन्। महानगरका मेयर धनराज आचार्यका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयहरूमा विद्यार्थी आकर्षण उल्लेखनीय रूपमा बढेको छ।
उनका अनुसार हालसम्म ८ हजारभन्दा बढी विद्यार्थी सरकारी विद्यालयहरूमा थपिएका छन्। कतिपय विद्यालयहरूमा भर्ना पाउनै कठिन हुने अवस्था सिर्जना भएको छ भने केही विद्यालयहरूमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न सुधारका कार्यक्रम अघि बढाएको र यसले विद्यालय तथा शिक्षकहरूमा आत्मविश्वास वृद्धि गरेको उनले बताए।
मेयर आचार्यका अनुसार शिक्षा सुधारसँगै विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि व्यापक विकेन्द्रीकरण गरिएको छ। उनले अघिल्लो कार्यकालको तुलनामा अहिले वडा तहमा उल्लेखनीय रूपमा बढी बजेट पुगेको दाबी गरे।
उनका अनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले पाँच वर्षमा पाउने बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन्।
उनले भने, “वडा बलियो भए मात्र महानगर बलियो हुन्छ। त्यसैले हामीले वडा तहसम्म पर्याप्त बजेट पठाएर साना–ठूला सबै कामलाई गति दिएका छौं।” महानगरको समग्र विकासमा वडा तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले वडा सफल भए मात्र महानगर सफल हुने धारणा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्