श्रम संस्कृति पार्टीका सांसद चार भाषामा शपथ लिँदै


काठमाडौँ । प्रतिनिधिसभा शपथ ग्रहण कार्यक्रम यसपटक केवल औपचारिक प्रक्रिया मात्र नभई भाषिक विविधताको प्रदर्शनका रूपमा पनि देखिने भएको छ।

श्रम संस्कृति पार्टीका सात सांसदमध्ये तीन जनाले मातृभाषामा शपथ लिने तयारी गरेसँगै संसदभित्र बहुभाषिक अभ्यासको संकेत देखिएको हो।

पार्टीका अनुसार चार सांसदले नेपाली भाषामै शपथ लिँदा बाँकी तीन जनाले फरक–फरक भाषामा शपथ लिनेछन्। भोजपुरबाट निर्वाचित ध्रुवराज राईले बान्तावा, पूर्णप्रसाद लिम्बुले लिम्बु र रुवीकुमारी ठाकुरले मैथिली भाषामा शपथ लिने तयारी गरेका छन्।

पार्टी अध्यक्ष हर्क साम्पाङ, महासचिव आरेन राई तथा समानुपातिक सांसदहरू अम्बिका देवी सङ्ग्रौला र राधिका रम्तेलले भने नेपाली भाषामै शपथ लिनेछन्।

प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ। त्यसअघि ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई राष्ट्रपतिले शपथ गराउनेछन् भने भोलिपल्ट केसीले अन्य सांसदलाई शपथ गराउने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।