काठमाडौं । चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ। यस दिन केवल सत्ता हस्तान्तरण मात्र नभई परम्परा, प्रतीक र राजनीतिक परिवर्तनको अनौठो मिश्रण देखिने भएको छ ।
यसपटकको शपथ ग्रहण समारोहलाई विशेष बनाउने तयारी गरिएको छ। कार्यक्रम अनुसार ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकहरूले स्वस्ती शान्ति वाचन गर्नेछन्। साथै, १६ जना बौद्ध भिक्षुहरूबाट अष्टमंगल पाठ गरिनेछ। यसले हिन्दू र बौद्ध परम्पराको संयुक्त उपस्थितिलाई झल्काउनेछ, जसलाई ‘आध्यात्मिक–राजनीतिक सन्तुलन’का रूपमा हेरिएको छ।
सपथपछि बालेनको कार्यसूची पनि व्यस्त रहनेछ। दिउँसो २ः १५ बजे उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक रूपमा पदबहाली गर्नेछन्।
राजनीतिक वृत्तमा यो परिवर्तनलाई ‘परम्परागत राजनीति भन्दा बाहिरको अभ्यास’का रूपमा व्याख्या गर्न थालिएको छ। स्वतन्त्र छविका नेताका रूपमा परिचित बालेनको नेतृत्वमा सरकार कस्तो दिशामा जानेछ भन्ने चासो बढेको छ। आम जनाताको नजर केवल सपथ समारोहमा मात्र नभई त्यसपछि सुरु हुने नीतिगत निर्णयहरूमा पनि केन्द्रित हुनेछ।


प्रतिक्रिया दिनुहोस्