महिला मन्त्रालय गाभ्ने तयारीविरुद्ध माईतीघरमा विरोध प्रदर्शन


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभ्ने तयारीको विरोधमा महिला तथा मानवअधिकारकर्मीहरूले बिहीबार माईतीघरमा प्रदर्शन गरेका छन्।

नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने क्रममा उक्त मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभेर ‘स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय’ बनाउने तयारी गरेपछि विरोध चर्किएको हो।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निर्णय हुनुअघि नै खबरदारी गर्न प्रदर्शन गरिएको बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको मुद्दा सम्बोधन गर्ने मन्त्रालय हटाउनु आपत्तिजनक भएको बताइन्। उनले मन्त्रालयलाई कमजोर बनाउनुको सट्टा अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन्।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले महिला मन्त्रालयलाई बारम्बार लक्षित गरिने गरेको उल्लेख गर्दै यसको संरक्षण आवश्यक रहेको बताइन्। महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले मन्त्रालय हटाउने प्रयासलाई लोकतन्त्रमाथिको प्रहार भएको टिप्पणी गरिन्।

प्रदर्शनकारीहरूले ‘महिला मन्त्रालय खारेज गर्न पाइँदैन’, ‘५१ प्रतिशतको अधिकारमा सम्झौता हुँदैन’ लगायतका नारा लगाउँदै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।