अध्यक्ष ओली पक्राउकाे कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेकाे निर्णय


काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउलाई प्रतिसोधपूर्ण र गैरकानुनी भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।

एमाले सचिव महेश बस्नेतले सबै जिल्ला सदरमुकाममा आजै अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।

आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने एमालेको निर्णय छ ।

यस्तै चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने र लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने,नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय पनि भएको बस्नेताले जानकारी दिए ।

नेकपा एमालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

आज बिहान आफ्नै निवास भक्तपुरबाट ओलीलाई पक्राउ गरिएको हो ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले आज विहान नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली पक्राउ गरेका हुन् । पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।