सांसदहरुलाई पूर्णबहादुर खड्काले भने- ‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’


काठमाडाैँ । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरेका छन् । 

सोमबार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भुमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

उनले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताए । पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न उनले आग्रह गरे ।

संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उनको भनाइ छ । उनले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिए ।

उनले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पारे । संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी काँग्रेसको ठूलो रहेको उनको भनाइ छ । 

उनले सांसदहरुलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रश्तुत हुन पनि निर्देशन दिए । संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरु तयार रहेको पनि उनकाे भनाइ छ । उनले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडी बढ्न पनि आग्रह गरे ।