काठमाडाैँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूचि र सञ्चालन प्रक्रियाबारे दलहरूबिच समझदारी बनेको जानकारी दिए । उनकाअनुसार प्रतिनिधि सभाको बिहीबारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव पेश हुनेछ ।
बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उनले बताए । साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरु गरिनुका साथै शिर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ ।
सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेन—जी आन्दोलनका शहीदहरुप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेत खुश्बु ओलीले संसदको नियमावली संशोधन गर्नेबारे सबै दलहरु सकारात्मक रहेको बताइन् । उनले कार्यव्यवस्था परामर्श समितिमा सबै दलहरुको समान सहभागिता रहनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि उल्लेख गरिन् ।
उनले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी समन्वय र सहकार्यसहित प्रभावकारी उपस्थिति जनाउने बताइन् ।


प्रतिक्रिया दिनुहोस्