काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा अञ्जन श्रेष्ठ समूहका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् ।
उनी सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठ भावी अध्यक्ष अञ्जन श्रेष्ठको समूहबाट उम्मेदवार बनेका थिए ।
भैरहवामा शनिबार सम्पन्न महासङ्घको आठौं प्रदेशसभा तथा अधिवेशनमा श्रेष्ठले कपिलवस्तु चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हुन् ।
महासङ्घको एसोसिएटतर्फ १ सय २ मत खसेकोमा श्रेष्ठले ९६ मत प्राप्त गरे । मियाँले भने ६ मत मात्र प्राप्त गरे ।
जिल्ला/नगरतर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गरे । वस्तुगततर्फ रहेको एकमात्र मत पनि श्रेष्ठले नै पाएका थिए ।
काठमाडौँमा प्यानल घोषणा सभामा ठाकुरको उम्मेदवारी पनि घोषणा भएको थियो ।
जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाबाट बद्रीनाथ बराल, प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् । एसोसिएट सदस्यहरूमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
११ सदस्यीय समितिमा एक जना महिलासहित २ जना मनोनीत हुने छन् ।
महासङ्घ लुम्बिनी प्रदेशको निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्मा अञ्जन समूहबाटै जिल्लानगरकाे केन्द्रीय उपाध्यक्षकाे उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्