सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित


काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो ।

सो प्रश्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

उपसभापति अर्यालको मात्रै प्रश्ताव आएकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरेका हुन् । उनले नवनिर्वाचित सभामुख अर्याललाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरे ।

नवनिर्वाचित सभामुख अर्याल काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । पार्टी सभापति लामिछाने सहकारी ठगी अभियोगमा पक्राउ परेका बेला उपसभापति अर्यालले पार्टी हाँकेका थिए । त्यसैगरी उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालि सकेका छन् ।

प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् ।