सेयर बजारमा त्रास नफैलाउन अर्थमन्त्री वाग्लेको आग्रह


काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारबारे फैलिएको त्रासप्रति चिन्ता व्यक्त त्रास नफैलाउन आग्रह गरेका छन् । साेमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा अर्थमन्त्री वाग्लेले सेयर बजारमा कुनै धरपकड अभियान नचलाइएको र साना लगानीकर्तालाई लक्षित गरेर कारबाही गर्ने उद्देश्य नरहेको बताएका छन्।

अर्थमन्त्री वाग्लेले पछिल्लो समय साना लगानीकर्तालाई आतंकित पार्ने खालका सन्देशहरू फैलिएको उल्लेख गर्दै उचित नभएको टिप्पणी गरे। “सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने नीति लिएको छैन,” उनले भने।

उनका अनुसार नेपालको सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जाने व्यवस्था, स्पष्ट कर प्रणाली तथा कारोबार ट्र्याक गर्न सकिने संरचनाले यसलाई विश्वसनीय बनाएको उनले बताए। सरकारले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएको समेत उनको भनाइ छ।

अर्थमन्त्रीले स्टक मार्केटमा लगानीकर्तालाई “सम्पत्ति कहाँबाट आयो” भनेर सोध्ने अवस्था नरहेको स्पष्ट पार्दै यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन वा अन्य अनैतिक गतिविधि गरेको प्रमाणित भएमा विद्यमान कानुनअनुसार मात्र कारबाही हुने बताए।

उनले लगानीकर्तालाई प्यानिक नहुन आग्रह गर्दै आगामी दिनमा बजार सुधारका लागि काम गरिने जानकारी दिए। नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर आवश्यक सुधार अघि बढाइने पनि उनले बताए।

राजनीतिक प्रतिबद्धताको प्रसंग उठाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने उल्लेख गरे र लगानीकर्तालाई ती बुँदाहरू अध्ययन गर्न आग्रह गरे।

हाल बजार घटेको अवस्थालाई सामान्य उतारचढावका रूपमा लिन आग्रह गर्दै उनले “सुनौला दिन आउँदैछन्” भन्ने विश्वास व्यक्त गरे। “सरकार २६५ साता काम गर्ने हो, एक साताको उतारचढावले आत्तिनुपर्ने अवस्था होइन,” उनले भने।

ग्रे लिस्टबाट बाहिर निस्कने प्राथमिकता

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए। ग्रे लिस्टका कारण अन्तर्राष्ट्रिय स्तरमा देशको छवि प्रभावित भएको र लगानी वातावरणमा नकारात्मक असर परेको उनले स्वीकारे।

सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधका विषयमा विगतदेखि भएका अनुसन्धानहरू प्रमाणका आधारमा अघि बढाइएको उनले स्पष्ट पारे। ह्वाइट–कलर क्राइममा आर्थिक जरिवानालाई प्राथमिकता दिने नीति रहेको उल्लेख गर्दै उनले कसैलाई लक्षित गरेर कारबाही नगर्ने तर अपराधमा संलग्नलाई छुट नदिने बताए।

“हामी खुला बजार अर्थनीति मान्छौं, तर त्यो छाडा अर्थतन्त्र होइन,” उनले भने।

अर्थमन्त्री वाग्लेले न्याय निरूपण अदालतबाट हुने विषय भएकाले सरकारको भूमिका कानुन कार्यान्वयनमा सीमित रहने स्पष्ट पार्दै निजी क्षेत्रलाई धरपकड गर्ने कुनै नीति नरहेको उनले दोहोर्याए।