काठमाडौँ। नेकपा एमाले की राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री ले भदौ २४ गते भएको सिंहदरबार आगजनीलगायत घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले उक्त घटनामा ढिलाइ नगरी अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिइन्।
उनले भदौ २३ र २४ गतेका घटनाको स्वरूपबारे प्रश्न उठाउँदै आन्दोलन शान्तिपूर्ण थियो वा हिंसात्मक भन्ने स्पष्ट पार्नुपर्ने बताइन्। साथै, सिंहदरबारमा आगजनीजस्ता घटनामा संलग्न र त्यसका लागि जिम्मेवार पक्षको पहिचान गर्नुपर्ने उनको भनाइ छ।
झाँक्रीले नवयुवाहरूलाई गलत ढंगले परिचालन गरिएकोप्रति चिन्ता व्यक्त गर्दै राज्यका संरचनामाथि आक्रमण गर्न प्रेरित गर्ने प्रवृत्तिको जड खोज्नुपर्ने उल्लेख गरिन्।
“राज्यविरुद्ध जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्वीकार्य छैन,” उनले भनिन्, “कार्पेटमुनि धुलो हालेर सबै ठीक भएको देखाउने प्रयास गर्नुहुँदैन।”
उनले घटनाको निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई सचेत गराइन्।


प्रतिक्रिया दिनुहोस्