काठमाडौँ । नेपाली काँग्रेसले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई दिन नपाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद नरेन्द्रकुमार केरुङले विरोध जनाउँदै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय उदार अर्थतन्त्रको नीतिविपरित रहेको टिप्पणी गरे ।
उनले निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस खोस्न नपाइने भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘नयाँ सरकार आउने बित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने निर्णय गर्यो । सरकारको यो कदम उदार अर्थतन्त्रको नीति विपरित छ । म जोड दिएर मा गर्छु सरकार निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस खोस्न पाइँदैन ।’
सरकारले सबै प्रकारका विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्न तीनै तहका सरकारी निकायलाई निर्देशन दिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बुधवार सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई यस्तो परिपत्र गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्