काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक प्रणालीप्रतिको जनअपेक्षा पूरा गर्न सरकार र संसद दुवै जिम्मेवार रहेको बताए ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न निर्वाचनफमार्फत गठन भएको प्रतिनिधि सभामा युवा प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको भन्दै यसले संघीय लोकतान्त्रिक शासनप्रणालीप्रति युवा पुस्ताको विश्वास र सहभागिता सुदृढ भएको संकेत दिएको बताए ।
उनले नागरिकले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, विधिको शासन, दण्डहीनताको अन्त्य, रोजगारी सिर्जना, सामाजिक न्याय तथा आर्थिक–सामाजिक विकासलाई प्राथमिक अपेक्षाका रूपमा अघि सारेको पनि उल्लेख गरे ।
उनले मुलुकमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरू र जेन–जी पुस्ताको आन्दोलनले पनि यही जनअपेक्षालाई प्रतिविम्वित गरेको भन्दै राज्यले त्यसअनुसार नीतिगत तथा कानूनी सुधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याए ।
राष्ट्रपतिले भने, ‘निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमै अभुतपूर्व रुपमा युवा वर्गको प्रतिनिधित्वसहितको प्रतिनिधि सभा गठन भई नयाँ सरकारले कार्यप्रारम्भ गरिसकेको छ ।
जनताले उत्तरदायी एवं पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य, र सुशासन स्थापना, विधिको शासन, मुलुकभित्रै रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय, तिव्र आर्थिक सामाजिक विकास, शान्ती र स्थायीत्वको आकाँक्षा राखेका छन् ।’
उनले नागरिककेन्द्रित जनकल्याणकारी कानून निर्माण र ती कानूनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु राज्यको मुख्य दायित्व भएको बताए ।


प्रतिक्रिया दिनुहोस्