राष्ट्रिय मोही दिवस : पाँच हजार लिटर मोही वितरण


काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजनामा आज देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ ।

‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’ सङ्कल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एसोसिएसनले जनाएको छ ।

काठमाडौँ स्थित एसोसिएसनको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले नेपाली दुध तथा दुग्ध पदार्थको निर्यातमा ठुलो सम्भावना रहेको बताए । महासङ्घको निर्यात प्रवर्धन समितिका सभापतिसमेत रहेका श्रेष्ठले भने,“गर्मी मौसममा मोहीको खपत बढाउन सके यसले नेपाली दूधको खपतमा योगदान पुर्‍याउँछ र अर्थतन्त्रलाई टेवा दिन्छ ।”

महासङ्घको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले मोही किसानको पसिनासँग जोडिएको वस्तु भएको चर्चा गर्दै यसको प्रवर्धन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गरे । रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोज चापागाईंले पछिल्लो समय मोहीप्रति उपभोक्ताको आकर्षण बढ्नु सुखद पक्ष भएको धारणा राखे ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मोही प्रवर्धन अभियान सफल भएकोमा खुसी व्यक्त गरे ।

हाल देशभर दर्जनौं कम्पनीले मोहीलाई आधुनिक प्याकेजिङ गरेर बिक्री सुरु गरिसकेको र आगामी दिनमा यो सङ्ख्या अझै बढ्ने उनले जानकारी दिए । एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले यो अभियानलाई निरन्तरता दिइने भन्दै सरकारले पनि यो दिवसलाई अपनत्व लिनुपर्ने माग गरे ।

दिवसको अवसरमा आज काठमाडौँ उपत्यकाका मुख्य चोक, अस्पताल र सार्वजनिक स्थलहरूमा गरी कुल करिब ५ हजार लिटर मोही निःशुल्क वितरण गरिएको छ ।

एसोसिएसनले सातदोबाटोस्थित महानगरीय ट्राफिक कार्यालय लगायतका स्थानमा सर्वसाधारणको उत्साहजनक सहभागिता मोही वितरण गरेको थियो । एसोसिएसनको आह्वानमा सातै प्रदेशका स्थानीय डेरी उद्योगीहरूले पनि आ–आफ्नो क्षेत्रमा निःशुल्क मोही वितरण गरेका छन् ।

लुम्बिनी प्रदेशमा भने स्वास्थ्य र सेवालाई जोड्दै विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर सङ्घ जिल्ला समिति रूपन्देहीसँगको समन्वयमा बुटवलस्थित ब्लड बैंकमा १५७औं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल डेरी एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी र कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मोही प्रयोग गर्न आह्वान गरेको छ । ‘मोहीको उपभोग बढ्नु भनेको ग्रामीण किसानले उचित मूल्य पाउनु र आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगिनु हो,’ विज्ञप्तिमा भनिएको छ ।

एसोसिएसनले सरकारी बैठक, विद्यालयका क्यान्टिन र पारिवारिक उत्सवहरूमा अनिवार्य रूपमा मोही प्रयोग गर्न सबैमा हार्दिक अपिल समेत गरेको छ ।