काठमाडाैँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्ष २०८२ को वार्षिक विपद् तथ्यांक सार्वजनिक गरेको छ ।
वैशाख १ देखि चैत ३० गतेसम्मको तथ्यांकअनुसार यस वर्ष नेपालमा विभिन्न ७ हजार ७ सय १६ विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् ।
यस वर्ष विपद्का कारण ३८ जना बेपत्ता भएका छन् भने एक हजार ९ सय ९१ जना घाइते भएका छन् । विपद्बाट देशभरका कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस वर्ष सबैभन्दा बढी घटना आगलागीका भएका छन् ।
तथ्यांकअनुसार ३ हजार ७ सय ६८ आगलागीका घटनामा हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना घाइते भएका छन् । यसैगरी, सर्पदंशका ६ सय २७ घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन्, जुन मानवीय क्षतिका हिसावले दोस्रो ठूलो कारण बनेको छ ।
मनसुनजन्य र अन्य विपद्को प्रभाव
प्राकृतिक प्रकोपमध्ये पहिरोका कारण ७६ जना र बाढीका कारण ३९ जनाको मृत्यु भएको छ । पहिरोका ६ सय २४ र बाढीका ३ सय २९ घटना यस वर्ष अभिलेख गरिएका छन् ।
यस्तै, चट्याङका ४ सय २६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३ सय १२ जना घाइते भएका छन् । त्यस्तै जनावर आक्रमणः ५ सय १६ घटना, ५७ मृत्यु, लेक लाग्नुः १३४ घटना, ४१ मृत्यु, भारी वर्षाः ४४९ घटना, ७ मृत्यु, हिउँ पहिरोः ६ घटना, ६ मृत्यु भएको छ ।
चैत २९ गते बिहान १० बजेदेखि चैत ३० गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा मात्रै देशभर २९ वटा विपद्का घटनाहरू भएका छन् ।
यस अवधिमा लेक लागेर १ जनाको मृत्यु भएको छ भने आगलागी र अन्य घटनामा परी ७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अनुमानित १५ लाख ९० हजार २ रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
आज चैत ३० गतेको मौसम विवरण अनुसार इलामको बारफल्याङमा सबैभन्दा बढी ७.४ मि.मि. वर्षा मापन गरिएको छ । यस्तै, आजको न्यूनतम तापक्रम मनाङको हुम्देमा –०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ३८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्