आजदेखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ सुरु, असार ७ सम्म स्थलगत तथ्याङ्क सङ्कलन


काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आजदेखि देशव्यापी रूपमा ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ। आर्थिक क्षेत्रसँग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा रोजगारी विश्लेषणका लागि आवश्यक आधार तयार गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

आज आयोजित एक कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले गणनाको औपचारिक शुभारम्भ गर्दै यसले मुलुकको समग्र आर्थिक निर्णय प्रक्रियामा ‘मेरुदण्ड’ को भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले अनुसार चैत १ गतेदेखि नै ७७ वटै जिल्लामा आर्थिक गणना कार्यालय स्थापना भइसकेका छन् भने काठमाडौँ, मोरङ र रूपन्देहीजस्ता ठूला जिल्लामा एकभन्दा बढी कार्यालय गरी कुल ८४ वटा जिल्ला स्तरका गणना कार्यालय सञ्चालनमा रहेका छन्।

यस आर्थिक गणनाले उद्योग, व्यापार, सेवा, सहकारी तथा सार्वजनिक र निजी क्षेत्रका सबै प्रकारका आर्थिक एकाइहरू समेट्नेछ। गणनाका क्रममा संस्थाहरूको संख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था, उत्पादन तथा सेवा प्रवाहजस्ता विषयमा विस्तृत विवरण सङ्कलन गरिनेछ।

यद्यपि अन्तर्राष्ट्रिय अभ्यासअनुसार कूटनीतिक निकाय, शुद्ध प्रशासनिक सरकारी कार्यालय, सुरक्षा निकाय तथा घरायसी प्रयोजनका गतिविधिहरूलाई भने यस गणनामा समावेश गरिएको छैन।

कार्यालयका अनुसार २०७५ सालमा गरिएको आर्थिक गणनामा करिब ९ लाख २३ हजार उद्योग प्रतिष्ठान समेटिएका थिए, जसले करिब ३२ लाख व्यक्तिलाई रोजगारी दिएको तथ्याङ्क सार्वजनिक भएको थियो।

डा। पोख्रेलले वैशाख २ गतेदेखि सुरु भएको स्थलगत तथ्याङ्क सङ्कलन कार्य असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। सङ्कलित विवरणहरू असार मसान्तसम्म केन्द्रमा आइपुग्नेछन् र आगामी आर्थिक वर्षको सुरुदेखि नै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

उनले यसपटक प्रविधि र संस्थागत क्षमतामा सुधार भएको उल्लेख गर्दै अझ विस्तृत, अद्यावधिक र गुणस्तरीय तथ्याङ्क प्राप्त हुने विश्वास व्यक्त गरे। साथै, तथ्याङ्क सङ्कलनको गुणस्तरलाई ध्यानमा राख्दै ‘ई–सेन्सस’ प्रणाली पनि लागू गरिएको छ, जसअन्तर्गत इच्छुक व्यवसायीहरूले विद्युतीय माध्यमबाटै आफ्नो विवरण पेश गर्न सक्नेछन्।

यस गणनाका लागि आवश्यक गणक तथा सुपरभाइजरहरूको नियुक्ति र तालिम सम्पन्न भइसकेको छ र उनीहरू आजैदेखि देशभर कार्यक्षेत्रमा खटिएका छन्।