असनमा ‘भेइकल फ्रि’ शनिबार: कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’


काठमाडाैँ । काठमाडौँको ऐतिहासिक असन बजार अहिले एउटा नयाँ प्रयोगबाट गुज्रिरहेको छ । महानगरपालिकाले हरेक शनिबार असन क्षेत्रलाई ‘सवारी मुक्त’ बनाउने निर्णय गरेपछि यहाँको डबली र गल्लीहरूमा नयाँ बहस शुरु भएको छ ।

के यो सम्पदा जोगाउने कडी हो कि व्यापार सुकाउने एम्बुस ? नुनदेखि सुनसम्म पाइने, इतिहासदेखि वर्तमानसम्म जोडिएको र बालबालिकादेखि वृद्धवृद्धासम्मको स्मृतिमा बसेको ठाउँ हो- असन ।

काठमाडौँ महानगरपालिकाले यहाँको सांस्कृतिक ओजलाई फर्काउन हरेक शनिवार सवारी आवातजावतमा प्रतिवन्ध लगाएको छ । वैशाख ५ गते शनिवारबाट कार्यान्वयनमा समेत आइसकेको छ । तर यो निर्णयले स्थानीय व्यवसायी र जनप्रतिनिधिबिचको बुझाइमा भने ठूलै खाडल देखिएको छ ।

काभ्रेपलाञ्चोकबाट आएर असनमा भाडा पसल गरिरहेका अशोक आचार्यका लागि ‘भेइकल फ्रि’ शनिबार कुनै उत्सव होइन, बरु एउटा आर्थिक बोझ बनेको छ । 

उनले भने, “सांस्कृतिक हिसावले त राम्रै होला, तर हामी व्यापार गर्नेलाई घरबेटीले छुट दिँदैनन् । दिनको १५–२० हजार खर्च हुने ठाउँमा महिनाको चार शनिवार बन्द हुँदा ८० हजार रुपैयाँ त हामी सिधै गुमाउँछौँ ।”

अशोकको विचारमा हप्तैपिच्छे हुने यो कार्यक्रमले आफ्नो औचित्य गुमाउँदै गएको छ ।

उनले एउटा उदाहरण दिए, “चिनी धेरै खायो भने तीतो हुन्छ, यो त्यस्तै भएको छ । महिनाको एक पटक गरेको भए बरु ‘मज्जा’ आउँथ्यो होला । फेरि यहाँ बेचिने खानेकुरा पनि सधैँ पाइने सामान्य नै छन्, केही एक्स्ट्रा चिज छैन । हाम्रो लागि त यो घाटाको सौदा मात्रै भयो ।”

तर अर्का व्यवसायी सीताराम तिमल्सिनाको धारणा भने आचार्यको भन्दा ठिक विपरित छ । उनी महानगरको यो कदमलाई ‘स्वागतयोग्य’ मान्छन् ।

“प्रभाव त अलिअलि परिहाल्छ, तर यो राम्रो कुरा हो । हाम्रो कला, संस्कृति र खानपिनको विज्ञापन जस्तो भयो,” तिमल्सिना भन्छन्, “महानगरपालिकाले राम्रै गरिरहेको छ ।”

उनका अनुसार शनिबार गाडी नहुँदैमा व्यापारमा ठूलै धक्का लाग्दैन । 

“अघिपछि पनि हामी आएर गफ हानेरै बस्ने हो, चिया खाएर समय बित्छ । हप्तामा एक दिन यस्तो हुँदैमा बिजनेस नै डुब्छ भन्ने मलाई लाग्दैन,” उनले भने ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल भने यो अभियानलाई एउटा ठूलो ‘भिजन’ का रूपमा हेर्छिन् । उनले असनलाई एउटा ‘लिभिङ म्युजियम’ (जीवन्त सङ्ग्रहालय) का रूपमा व्याख्या गरे ।

“शहर भनेको गाडीको लागि मात्र होइन, आम नागरिक र पैदलमार्गीका लागि पनि हो,” डंगोल भन्छिन्, “हामीले हाम्रो ठाउँमा आनन्दले हिँड्न पाउनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ । बाजे–बज्यैको हात समातेर नानीहरू डबलीमा निर्धक्क खेल्न पाउन्, यो नै यसको मुख्य उद्देश्य हो ।”

उनले असनका मन्दिर र बहा–बहीहरूको महत्व गाडीको ‘ट्याँ–ट्याँ र टुँ–टुँ’ हर्नका कारण मासिएको स्वीकार गर्दै शनिवारको दिनलाई ‘असन महशुकस गर्ने मौका’ का रूपमा परिभाषित गरिन् ।

उनी भन्छिन्, “हामीले २५ र २७ वडाबाट शुरु गरेका छौँ, बिस्तारै २४, २३ हुँदै कोर क्षेत्रका अरु वडामा पनि पुग्छौँ । यसले यहाँका बासिन्दालाई ‘सजाय’ होइन, ‘पुरस्कार’ दिनुपर्छ भन्नेमा हामी सचेत छौँ ।”

महानगरले असनको म्यापिङ गर्ने र यहाँ आउनेहरूका लागि एउटा जानकारीमूलक ‘इन्भेन्ट्री’ बनाउने योजना पनि अघि सारेको छ । तर अशोक आचार्य जस्ता व्यवसायीहरूको ‘आर्थिक पीडा’ र सुनिता डंगोलले देखेको ‘सांस्कृतिक पुनर्जागरण’ को सपनाबिच सन्तुलन मिलाउनु नै महानगरका लागि मुख्य चुनौती देखिन्छ ।

कसैका लागि यो चिया खाँदै गफिने र सम्पदा हेर्ने फुर्सदिलो शनिवकार हो त कसैका लागि ८० हजार रुपैयाँ गुम्ने व्यापारिक चिन्ता ।

असनको यो ‘भेइकल फ्रि’ प्रयोगले अन्ततः कस्तो रूप लिनेछ, त्यो भने आगामी समयले नै बताउनेछ । तर एउटा कुरा पक्का छ- असन अब केवल बजार मात्र रहेन, यो बहसको एउटा नयाँ डबली पनि बनेको छ ।