नक्कली नाेट काराेबार आराेपबारे हिमालयन बैंकका सिइओ : गलत हल्ला फैलाइयो


काठमाडौँ । भारतको उत्तर प्रदेशका पूर्व डिजिपी डा. विक्रम सिंहले भारतीय नक्कली नोटको कारोबारमा नेपालको हिमालयन बैंक पनि संलग्न रहेको गम्भीर आरोप लगाए ।

आरजे रौनकसँगको युट्यु्ब पोडकास्टमा भारतको उत्तर प्रदेश र नेपाल बोर्डरमा हिमालयन बैंकले शाखा मार्फत चार नक्कली र एक सक्कली नोट राखेर कारोबार हुने गरेको आरोप लगाएका थिए ।

तर नेपालको हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको सेयर भएका कारण भारतले हिमालयन बैंकलाई पहिलेदेखि नै शङ्का गर्ने गरेको थियो ।

हिमालयन बैंकको स्थापना २०४९ सालमा भएको हो । सिभिलसँग मर्जरअघि २० प्रतिशत सेयर रहेको हबिबको मर्जरपछि १२.९६ प्रतिशत स्वामित्व रहेको थियो ।

हिमालयनमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हबिब बैंकको रहेको थियो । सोही स्वामित्वलाई लिएर भारतले शङ्काको दृटिले हेर्ने गरेको बैंकका एक उच्च अधिकारीले बताए ।

हबिब बैंकले हिमालयन बैंकमा भएको आफ्नो सेयर नेशनल लाइफ इन्स्योरेन्सलाई बिक्री गरेर बाहिरिसकेको छ । हबिब बाहिरिएपछि उत्तर प्रदेशका पूर्व डिजिपी सिंहकाे धारणा बाहिर आएकाे हाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले कारोबारको सबै रिर्पोट हुने भएकोले गलत हल्ला फैलाइएको बताए ।

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बैंकहरूले यस्तो गर्न नसक्ने बताए । उनले भने, “बैंकहरूले नक्कली कारोबार गर्दैनन् । यो गलत गलत हल्ला हो ।”

सन् २०१६ मा भारतमा भएको नोटबन्दी पछि भारतीय नक्कली नोटको समस्या हटेको बताउने गरेका छन् ।