गृहमन्त्री सुधन गुरूङकाे प्रश्न, ‘सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?’


काठमाडाैँ । व्यवसायी दीपक भट्टकाे लगानी रहेकाे कम्पनीमा गृहमन्त्री सुधन गुरूङकाे नाम जाेडिएपछि उनले स्पष्टीकरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सार्वजनिक गरेका हुन् । उनले हल्ला धेरै भएकाेले तथ्य बुझ्न जरुरी रहेकाे बताएका हुन् ।

गृहमन्त्री गुरूङले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्याेरेन्समा भएको लगानी सम्पति विवरणा सार्वजनिक गर्दा विवरणमै समेटिएकाे बताएका हुन् ।

उनले भनेका छन्, “‘२५ लाखको सेयर लुकाइएको’ भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।”

उनले मन्त्री हुनुअघि सेयर किनिएकाे भन्ने विषयमा याे देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? भन्दै प्रश्न गरेका छन् । उनले सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको उल्लेख गरेका छन् ।

“बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,” उनले भनेका छन् ।

लगानीकाे स्राेत ऋणमार्फत जुटाएकाे उनले बताएका छन् । उनले लेखेका छन्, “अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।”

उनले विवादित व्यक्तिसँग साझेदारी भएकाे भन्ने विषयमा एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने र सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु नभएकाे बताएका छन् ।

उनले भनेका छन्, “यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त? प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?”

उनले स्वार्थकाे द्वन्द्व भएकाे आराेपकाे विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभइ अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग रहेकाे र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको बताए ।

कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि नबढ्ने उनकाे दाबी छ । उनले भने, “यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।”

उनले पृष्ठभूमि नजाँची लगानी गरेकाे भन्ने विषयमा व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने र हरेक लगानीमा जोखिम हुने बताएका छन् ।

उनले भनेका छन्, “पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो।”

प्रतिक्रिया नदिएकाे विषयमा कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने उनकाे भनाइ छ ।

उनले भने, “हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।”

पार्टीको नारा र व्यवहार फरक भएकाे भन्ने टिप्पणीमा व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित नभएकाे बताएका छन् । “लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन,” उनले भनेका छन् ।

उनले भनेका छन्, “आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ। तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।”