अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा,नाकाबन्दी भने जारी रहने


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविराम लम्ब्याउने घोषणा गरेका छन् ।

उनले पाकिस्तानको अनुरोधलाई आधार मानेर इरानमाथिको सैन्य आक्रमण स्थगित गरिएको र इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी भने यथावत् राखिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पले इरानको आन्तरिक राजनीतिक अवस्था गम्भीर रूपमा विभाजित रहेको उल्लेख गर्दै, त्यस परिस्थितिमा इरानी नेतृत्वलाई एकीकृत प्रस्ताव ल्याउने अवसर दिन युद्धविराम लम्ब्याइएको दाबी गरेका छन् ।

उनका अनुसार पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र फिल्ड मार्सल आसिम मुनिरको अनुरोधपछि अमेरिकाले इरानसँगको युद्धविराम लम्ब्याइएको हो ।

“इरानका नेताहरू र प्रतिनिधिहरूले संयुक्त प्रस्ताव पेश नगरेसम्म र छलफल निष्कर्षमा नपुगेसम्म युद्धविराम कायम रहनेछ,” ट्रम्पले भनेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनालाई नाकाबन्दी निरन्तरता दिन र अन्य सबै अवस्थामा तयार रहन निर्देशन दिएको पनि बताएका छन् ।

यस घोषणाले इरान–अमेरिका तनावमा कूटनीतिक संवादको सम्भावना खुला राखेको देखिए पनि क्षेत्रीय तनावको अवस्था भने अझै संवेदनशील रहेको विश्लेषकहरूको भनाइ छ । अमेरिका र इरानबिचको युद्धविरामको समय बुधबार सकिदैछ ।