सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य, १५ दिनमै विवरण प्रिन्ट गरेर राख्नुपर्ने


काठमाडौं । नेपाल सरकारले सबै सरकारी निकायमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

हिजो बसेको सचिवस्तरीय निर्णयले त्यसअनुसार कार्यान्वयन गर्न सबै निकायलाई अनुरोध गरेको हो। सूचनामा सूचना प्रविधि शाखालाई उक्त पत्र वेबसाइटमा समेत राख्न भनिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले जारी गरेको परिपत्रमा मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तह सबैलाई यस्तो व्यवस्था कार्यान्वयन गर्न भनिएको हो।

परिपत्रअनुसार कर्मचारीहरूको दैनिक उपस्थिति अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। यदि उक्त प्रणाली कार्यान्वयन नभएको अवस्थामा कर्मचारीहरूको दैनिक आवत–जावत विवरण (आएको तथा गएको समय) अनिवार्य रूपमा विद्युतीय माध्यमबाट राख्नुपर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै, प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्नुपर्ने पनि निर्देशन दिइएको छ। सरकारले कर्मचारी उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था लागू गर्न लागेको जनाएको छ।