नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रतिस्प्रधाबाट छानिने,दरखास्त आह्वान


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक प्रतिस्प्रधाबाट छानिने भएका छन् ।

पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज सूचना प्रकाशन गर्दै योग्य उम्मेदवारहरूबाट ७ दिनभित्र आवेदन माग गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ को उपदफा (१) बमोजिम जारी सूचनाअनुसार निजी क्षेत्रका उड्डयन विज्ञ वा बाहिरका स्वतन्त्र व्यक्तिले भने यसमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

यसअघि मन्त्रिपरिषद्को निर्णयबाट सिधै महानिर्देशक नियुक्त हुने परम्परा थियो । पर्यटन मन्त्री खडकराज पौडेलले इतिहासमै पहिलोपटक प्राधिकरणको महानिर्देशक नियुक्ति प्रतिस्पर्धाबाट हुन लागेको दाबी गरेका छन्।

उनले भनेका छन्, “प्रतिस्पर्धाका सबै चरणहरू पारदर्शी र पक्षपातरहित हुनेछन् । अब चाकरी गरेर, ब्रिफकेस भरेर या दलको झोला बोकेर नियुक्ति खाने दिन गए । योग्यता र इमान्दारीको कसीमा पास हुनुस् ! बस !”

सूचनामा नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका इच्छुक उम्मेदवारहरूले मात्र महानिर्देशक पदका लागि आवेदन दिन सक्ने उल्लेख छ ।

योग्यता पुगेका बहालवाला कर्मचारीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयमा आवेदन बुझाउनुपर्नेछ ।