सिडिएससीमा कार्यवाहक सिइओको जिम्मेवारी कञ्चन सापकोटालाई


काठमाडौँ । सिडिएससी एन्ड क्लियरिङ लिमिटेडमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओे) को जिम्मेवारी कञ्चन सापकोटले पाएकी छिन् ।

यसअघिकी सिइओ प्रविन पन्दाकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फिर्ता बोलाएपछि सिडिएससी सञ्चालक समितिले सापकोटालाई कार्यवाहक नेतृत्व सुम्पिएको हो ।

नेप्सेले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेपछि सिडिएससीको नेतृत्व रिक्त बनेको थियो । सिडिएससीमा यसअघि नेप्सेको सतप्रतिशत स्वामित्व रहेकामा अहिले अर्थ मन्त्रालयको समेत ४९.०७ प्रतिशत सेयर हिस्सा छ ।

स्वामित्व संरचना परिवर्तन भएसँगै अब सिइओ नेप्सेबाट हुने कि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । नेप्से स्रोतका अनुसार तत्काल सिइओ पठाउने सम्भावना कम देखिएको छ ।

पन्दाकको फिर्तीलाई सामान्य प्रशासनिक निर्णय भनिए पनि पछिल्लो समय सिडिएससीभित्र नेतृत्व शैली, व्यवस्थापन समन्वय र संस्थागत निर्णय प्रक्रियालाई लिएर विभिन्न तहमा असन्तुष्टि बढेको चर्चा थियो ।