काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे ले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्याउन सकिने दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित ‘अर्थको अर्थ’ कार्यक्रमको ३३औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष पाण्डेले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रले स्पष्ट मार्गचित्र र प्रतिबद्धता तयार गरिरहेको बताए। उनकाअनुसार पहिलो चरणका आर्थिक सुधारपछि केही प्रगति भए पनि ‘दोस्रो चरण’ सुधार नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन।
उद्योग, उत्पादन र रोजगारी विस्तारका लागि कम्तीमा १० वर्षसम्म नीतिगत स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै पाण्डेले लगानीकर्ताका लागि ‘प्रेडिक्टिबिलिटी’ र दीर्घकालीन ‘भिजिबिलिटी’ सुनिश्चित गर्नुपर्ने बताए।
त्यसैगरी, सार्वजनिक सेवा प्रणालीलाई ‘फेसलेस, पेपरलेस र कन्ट्याक्टलेस’ बनाउँदै अनलाइन ‘सिंगल विन्डो’ प्रणाली स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए। कर प्रणाली सुधार, चोरी पैठारी नियन्त्रण, तथा पुराना कानून खारेज गरी समयअनुकूल नयाँ कानून निर्माण गर्नुपर्ने माग राखे ।
व्यवसायिक कसुरमा थुनछेक गर्ने प्रवृत्तिले त्रास सिर्जना गरेको उल्लेख गर्दै पाण्डेले लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको धारणा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्