काठमाडाैँ । पूर्वाधार विकास समितिले अलपत्र अवस्थामा रहेका पूर्वाधार आयोजनाको व्यवस्थापन समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको समितिको बैठकमा सभापति आशिष गजुरेलले विकास निर्माणका परियोजनालाई तत्काल व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
उनले आगामी दिनमा शुरु हुने परियोजनामा पनि विगतका कमजोरी दोहोरिन नदिन नीतिगत सुधार गर्नुपर्ने बताए ।
नियम, प्रक्रिया र कार्यान्वयन तहमा रहेका अस्पष्टता र त्रुटीहरूको गहिरो अध्ययन गरी समितिले सरकारलाई ठोस सुझाव र निर्देशन दिने उनको भनाइ छ ।
उनले विकास निर्माणका सन्दर्भमा समितिप्रति सरकार जवाफदेही हुनुपर्ने बताए । मन्त्री र सचिवहरूले संसदीय समितिमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ ।
उनले संसदीय समितिभन्दा सरकार माथि नहुने बताउनुभयो । समितिले कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्ने उहाँले प्रतिवद्धता पनि जनाए ।
उनले भने, “पूर्वाधारहरु जुन अलपत्र परेका छन्, तिनीहरुको पनि व्यवस्थापन हुनुप¥यो, समयमा नै काम सम्पन्न हुनुपर्छ । आगामी दिनमा आउने परियोजनामा विगतका गल्तीहरु दोहोरिन दिनु हुँदैन । त्यसको लागि हामीले निति नियम र प्रक्रियामा के के अस्पष्टता छन् ? के के त्रुटीहरु छन्, ती कुराहरुमा हामीले गहन ढंगले छलफल गरेर सरकारलाई सुझाव, निर्देशन दिने, समन्वय गर्ने गर्नुपर्छ । सरकारका मन्त्री, सचिवले पनि समितिमा आएर जवाफ दिनुपर्छ । संसदीय समितिको अनुगमनमा मन्त्री, सचिवसंगै नजाने भन्ने हुँदैन, उहाँहरु जानैपर्छ । सरकार हामीभन्दा माथी हुँदैन । समितिले आफ्नो काम गर्छ, यसमा हामी कसैको दबाबमा नपरि काम गर्छौ ।”
समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, देखिएका समस्या र तीनको समाधान गर्नको लागि प्रतिवेदन तयार गर्न उपसमिति समेत गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्