काठमाडौँ । देशका विभिन्न स्थानमा आज तीव्र गतिको हावाहुरी चल्ने जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने विवरण उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।
विभागका अनुसार ती ठाउँहरूमा आज साँझ ५ः४५ बजेदेखि हुरी सुरु भई भोली बिहान ७ः४५ बजेसम्म हावाहुरी रहने अनुमान छ । हावाहुरीसँगै मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने विभागको भनाई छ ।
हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ ।
जस्तालगायतबाट बनेको छानो कमजोर भए बन्धन बलियो बनाउन पनि भनेको छ ।
घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने र बिजुलीको तार लत्रिएको छ भने नछुन प्राधिकरणले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्